एलिना डन : कन्टेन्ट क्रिएटर हुँदै अब नयाँ यात्रामा

काठमाडौँ — ‘एलिना डन’ रुपमा चर्चित एलिना गुरुङ धेरैले मन पराएको कन्टेन्ट क्रिएटर हुन् । १० वर्षदेखि कन्टेन्ट र भिडियो क्रिएसनमा सक्रिय एलिना अहिले भने नयाँ बाटोमा छिन् । २६ वर्षीया एलिना भन्छिन्, ‘मलाई मेरो आफ्नो करियर चाइल्ड साइकोलोजीमा बनाउन मन थियो । त्यसैले म करियर तिरै फोकस छु ।’


एलिनाले होटल म्यानेजमेन्टमा प्लस टु, पत्रकारितामा स्नातक र साइकोलोजी (मनोविज्ञान)मा स्नातहकोत्तर गरेकी छन् । कन्टेन्ट क्रिएटर रहेकी एलिना अहिले भने आफ्नो नयाँ परिचय बनाउन लागिपरेकी छन् ।
‘म चाइल्ड साइकोलोजिस्टको रूपमा काम गरी रहेकी छु,’ उनी भन्छिन्, ‘अटिज्म भएका बालबालिकालाई ‘बिहेभियर’ थेरापी दिने काम गर्छु ।’ डेढ वर्षदेखि उनी साइकोलोजिस्टको रूपमा काम गर्दैछिन् । त्यसैले अहिले भिडियोमा धेरै समय दिन नपाएको उनले सुनाइन् ।
‘क्लिनिकमा पुरै समय दिईरहेको हुन्छ, त्यसले गर्दा कन्टेन्ट क्रिएसनमा समय दिन पाएको छैन,’ एलिनाले थपिन् । आफ्नो तरिकाले कन्टेन्ट बनाइरहेकी एलिनालाई पुरै समय क्लिनिकमा काम गर्न भने सुरुमा गाह्रो परेको थियो । तर आफूले यसैमा करियर बनाउने सोचेको र विशेषगरी बालबालिका मनपर्ने भएर थेरापिस्ट भएर काम गर्न आनन्द आईरहेको सुनाइन् ।
‘कन्टेन्ट क्रिएसन एकदमै सजिलो थियो । मैले यसमा धेरै समय बिताए पनि,’ आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, ‘तर जसरी क्लिनिकमा काम गर्न थालेपछि थेरापिस्टको रुपमा धेरै गाह्रो हुँदो रहेछ । सोचेजस्तो नहुने । किनभने अटिज्मको केसमा पनि विभिन्न खालको बालबालिकासँग घुलमिल हुनुपर्ने हुन्छ । एकदमै गाह्रो भए पनि तर मलाई यो काम मन परिरहेको छ ।’
कन्टेन्ट क्रिएटरको रूपमा आफू अहिले कम सक्रिय भए पनि नयाँ नामको लागि काम गरिरहेको उनी सुनाउछिन् । ‘कन्टेन्ट क्रिएसनमा करिय राम्रो छ । मेरो जहिले पनि सोच के थियो भने कन्टेन्ट क्रिएसन जहाँसम्म गर्छु–गर्छु,’ एलिनाले सुनाइन्, ‘त्यो कारणले एउटा समयमा गएर कन्टेन्ट क्रिएसनलाई पछाडी राख्नुपर्छ भनेर सोचेको थिए । नभन्दै अहिले त्यस्तै भईरहेको छ ।’
एलिनाको घर तेह्रथुम हो । तर काठमाडौंमै जन्मिएर हुर्किएकी एलिनाको परिवारमा आमा, बुवा, दिदी र एक जना भाई छन् । ‘परिवारको इच्छा मैले पढोस् भन्ने थियो,’ उनले भनिन्, ‘मैले मास्टर नि सके । यहाँसम्म आईपुग्न मेरो परिवारको ठूलो सहयोग छ ।’
एलिनाले सन् २०२१ मा ‘आमा’ र २०२२ मा ‘भूगोल’ सर्ट मुभिमा पनि अभिनय गरेकी छन् । त्यतिमात्र नभई एलिनाको नयाँ ‘प्रयास’ नामको म्युजिक भिडियोमा पनि ‘ल्यान्ड लेडी’ को अभिनयमा देखिएकी छन् । साथै फुर्सदको समयमा विभिन्न ब्रान्डसँग मिलेर कन्टेन्ट बनाउँछिन् ।
कान्तिपुरको भिडियो कार्यक्रम ‘बियोन्ड द फिड्स’ मा एलिनाले आफ्नो पढाई, कन्टेन्ट क्रिएटरको अनुभव र अबको सपनाबारे बताएकी छन् ।
प्रकाशित : जेष्ठ १४, २०८२ २०:५६